जनकपुर- जनकपुरधाम उपमहानगरपालिका पुनर्निर्माण अभियान अन्तिम चरणमा पुगेको छ। एकीकृत सहरी विकास परियोजना अन्तर्गत सफा, सुन्दर, आकर्षक, रमणीय, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर बनाउने लक्ष्यका साथ सुरु गरिएको अभियान पूरा हुँदै गर्दा जनकपुरले मुहार फेरेको छ।
परियोजना अन्तर्गत निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत लाइन मर्मतसम्भार ९० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ। यो परियोजनामा एसियाली विकास बैंकको १ अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) आर्थिक सहयोग छ। तर, जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारका क्रममा उत्पन्न अवरोध र विवाद समयमा समाधान गर्न ढिलाइ भएपछि अन्तिम चरणको निर्माण पूरा गर्न नसकेको ठेकेदार जेडआइपिसी रमन कन्सट्रक्सन कम्पनीले जनाएको छ।
उपमहानगरपालिका, एसियाली विकास बैंक र ठेकेदार जेडआइपिसी रमन कन्सट्रक्सनबीच ५ डिसेम्बर २०१८ सम्म परियोजना पूरा गर्ने सम्झौता थियो। जग्गा विवाद, मुआब्जा, घर भत्काउने र पुनर्निर्माणको विषयमा लामो समय स्थानीयबासीको अवरोध हटाउँदै काम गर्नु रेकाले ठेक्का सम्झौताको म्याद गुज्रिएको हो।
ठेकेदार कम्पनीका प्रमुख इन्जिनियर अवधकिसोर साहले कम्पनीले निर्माण पूरा गर्न तीन महिनाको म्याद थप्नुपर्ने माग गरेको बताए। उनले भने, ‘करिब १० प्रतिशत काम गर्न बाँकी छ, ३ महिनामा पूरा गर्छौं।'
जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रले पनि तीन महिनाका लागि म्याद थप गर्न सिफारिस गरिसकेको बताइन्।
चिल्ला सडक
परियोजना अन्तर्गत ३१ किलोमिटर ह्युमपाइप विस्तार, ड्रेन निर्माण, ढल निकास, ३० मिटर चौडाइको ९ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ। विवादका कारण शिवचोकदेखि कदमचोकसम्म १ सय ३४ मिटर, मुरलीचोकमा सय मिटर, रेलवेस्टेसनमा सय मिटर, बन्सिचोकमा सय मिटर, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म १५ सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको जनकपुर उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।
फोहरमैला, प्रदूषण, धुलो, धुवाँ र अव्यवस्थित सहरको कुरुपताले देशविदेशबाट जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक, दर्शनार्थी, तीर्थालु भक्तजनको नजरमा नकारात्मक प्रभाव पर्ने गरेकोमा अब जनकपुरको आकर्षण फेरिनेमा स्थानीय खुसी छन्।

सफा, सुन्दर र रमणीय सहर बनाउने उद्देश्यले जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तर्गत उपमहानगरको परिक्रमाभित्र पिडारी चोकदेखि थापाचोक, बन्सिचोक, मिल्सएरिया रेलवेस्टेसन, भानुचोक, कदमचोक, मुरलीचोक हुँदै जिरोमाइलसम्म, एयरपोर्टदेखि मुरली चोक, तिरहुतिया गाछी, रामचोक, जनकचोक, शिवचोक हुँदै भानुचोकसम्म, रेलवे स्टेसनदेखि जलाध खोलासम्म सडक विस्तार गरिएको छ। ग्राभेल, कालोपत्रे, सरसफाइ, ढल निकासका लागि ह्युमपाइप जडान ड्रेन निर्माण, फुटपाथ, टेलिफोन, खानेपानी र विद्युत लाइन मर्मतसम्भार पनि गरिएको छ।
सडकपेटीको दायाँबायाँ पैदलयात्रीका लागि निर्माण गर्नुपर्ने ३८ हजार वर्गमिटर मध्ये १९ हजार वर्गमिटर फुटपाथ निर्माण पूरा भइसकेको ठेकेदार कम्पनीका इन्जिनियर अवधकिशोर साहले बताए। सडक कालोपत्रे र फुटपाथ निर्माण गरिएको क्षेत्रमा फोहर मैला र दुर्गन्धित जनकपुरको स्वरुप फेरिँदै गएको अनुभूति भइरहेको नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका जनकपुरका स्थायी बासिन्दा शैलेन्द्र झाले बताए।

परियोजना निर्माणका लागि ठेकेदार जेडआइपिसी रमन कन्सट्रक्सन कम्पनीसित १ अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता छ। त्यसमध्ये करिब ९२ करोड रुपैयाँ भुक्तानी पाइसकेको कम्पनीका इन्जिनियर साहले बताए ।
सन २०१६ मा सुरु परियोजना अन्तर्गत सडक विस्तार भए पनि जनकपुर उपमहानगर क्षेत्रको फोहोर मैला व्यावस्थापनको निम्ति सेनिटरी ल्यान्डफिल साइटको जग्गा व्यवस्थापनका लागि गुठी संस्थानसँग सम्झौता गरी भाडामा लिएको जग्गामा स्थानीयवासीको अवरोध भएको थियो। जसका कारण जग्गा व्यवस्थापन गर्न नसक्दा विनियोजित ४० करोड रुपैयाँ खर्च हुन सकेको छैन।
विद्युत पोलतार विस्तार मर्मतसम्भार १ करोड ४७ लाख, ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलबमा खर्च भएको आयोजनाले जनाएको छ।
उपमहानगर क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागले समेत ८३ करोड रुपैयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरेको छ।
रामचोकदेखि तिरहुतियागाछी, महावीर चोक, जानकीमन्दिर, जनकचोक क्षेत्रमा निर्माणाधीन २१ किलोमिटर सडक विस्तार, ग्राभेल, कालोपत्रे र ह्यूमपाइप विस्तार ड्रेन निर्माण गर्नुपर्नेमध्ये २ किलोमिटर सडक कालोपत्रे र २१ किलोमिटर ड्रेन निर्माण गरिसकेको छ। सडक विस्तार र ड्रेन निर्माणका लागि ३० मिटर चौडाइको सडक दायाँ–बायाँ २ हजारभन्दा बढी घरटहरा भत्काएर पुनर्निर्माण भइरहेका छन्। भत्काइएका निजी घर सर्वसाधारण आफ्नै लगानीमा पुनः निर्माण गर्दैछन्।

सडक विस्तार क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्वसाधारणले गुनासो गर्दै आएका छन्। उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ ३० मिटर, सहायक सडक २० मिटर, पुराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ ।
जनकपुर उपमहानगरपालिकालाई अव्यवस्थित सहरीकरण गरी स्वच्छ, सफा, सुन्दर, आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्ने लक्ष्य पूरा हुने जनकपुर उपमहानगरपलिकाका उपप्रमुख रीताकुमारी मिश्रले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।