काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै शर्माले सुन्दरीजलस्थित बिपी संग्रहालय अव्यवस्थित र संग्रहविहीन रहेको तथा पुष्पलालको रामेछाप भँगेरीस्थित जन्मघर संरक्षणविहीन भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले पुष्पलाल र सहिद गंगालाको कुँदेको चित्र भुइँमा नै राखिएको अवस्थामा रहेको भन्दै तत्काल निवास मर्मत गरी संग्रहालयको रुपमा व्यवस्थित गर्न माग गरे।
उनले राजधानीको कीर्तिपुरस्थित पुष्पलाल प्रतिष्ठानका लागि सरकारले २ वर्षअघि नै ५० रोपनी जग्गा अधिग्रहण गरी रोक्का गरिराखेको तथा अहिलेसम्म जग्गा रोक्का गरेका भूकम्प प्रभावितले मुआब्जा नपाएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। मुआब्जाको समस्या सम्बोधन नभएकाले उद्यान बनाउनका लागि नगरपालिकाले छुट्याएको ३० लाख रुपैयाँ पनि खर्च नहुने अवस्था सिर्जना भएको भन्दै उनले तत्काल समस्या सम्बोधन गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।