काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसदहरुले तराई–मधेस थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले ७५ जनाको ज्यान जाने गरी भएको तराई–मधेस थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
पूर्व न्यायाधीश गिरिशचन्द्रलाल संयोजकत्वको जाँचबुझ आयोगले २०७४ मंसिर २९ गते नै प्रतिवेदन तयार गरी तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले प्रतिवेदनबारे अनविज्ञता जाहेर गर्न नमिल्ने दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले मैले प्राप्त गरेको छैन भन्दा यो भन्दा हास्यास्पद अरु के होला? के प्रधानमन्त्री कार्यालय फेरिइसकेको छ? प्रधानमन्त्री कार्यालयका कागजहरु दहन हुन्छ एउटा प्रधानमन्त्री गइसकेपछि?’
प्रधानमन्त्री फेरिने तर पद नफेरिने भन्दै उनले आफूलाई जानकारी छैन भन्नुले प्रधानमन्त्री सो प्रतिवेदनप्रति गम्भीर नबनेको स्पष्ट भएको दाबी गरे। उनले प्रतिवेदन सार्वजनिक भएन भने आफूहरु संसद अवरोध गर्न बाध्य हुने भन्दै तत्काल सार्ववजनिक गर्न माग गरे।
सांसद कर्णले उठाएको सवालमा सभामुख महराले पनि सरकारको विशेष ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।