काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म-सम्प्रदायसँग समन्वय गरेर अघि बढ्ने बताएका छन्। सोमबार पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजातिबीचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दू, बौद्ध, किराँत, मुस्लिम र क्रिश्चियन सबैको साझा पार्टीको रूपमा राप्रपालाई निर्माण गर्ने दाबी गरे।
'राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडी बढ्न आवश्यक छ,' अध्यक्ष थापाले भने, 'राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेका छन्।'
कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले सम्पूर्ण आदिवासी जनजातिको भाषा, लिपिको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए।
सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु अटाउन सक्ने एजेन्डा राप्रपाले अख्तियार गरेकोले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न उहाँले आग्रह समेत गरेका थिए।
आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तीमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।