काठमाडौं– वैदेशिक रोजगारीमा गएका करिब ७० प्रतिशत महिला कामदार रोजगारदाता देशमा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको एक अध्ययनले जनाएको छ।
पौरखी नेपालले रोजगारीमा गएर विभिन्न देशबाट समस्या परेर फर्किएका १ हजारभन्दा धेरै पीडित महिलाहरूमा अनुसन्धान गर्दा ३५ वर्ष मुनिका ७० प्रतिशत महिला रोजगारदाता देशमा रोजगारदाता कम्पनी र मालिकबाट आर्थिक सँगै शारीरिक शोषणमा पर्ने गरेको अध्ययनमा उल्लेख गरेको छ।
जसमा ७३ प्रतिशत महिला बालबच्चा भएका महिला कामदार पर्ने गरेको अध्ययनमा उल्लेख छ।
अध्ययनका अनुसार यसरी शोषणमा पर्नेमा ४० प्रतिशत अशिक्षित र ४८ प्रतिशत विवाहित महिला रहेको जनाएको छ।
यसरी शोषणमा परेका १० महिलामा सामान्य मानसिक समस्या देखा पर्ने गरिएको अध्ययनमा भनिएको छ। यस्ता महिला पुरुषलाई देख्दा डराउने मानसिक रोग हुने गरेको बताइएको छ।
रोजगारीमा गएर शारीरिक शोषणमा परेका ३ प्रतिशत महिला गर्भवती भएर स्वदेश फर्किने गरेका अध्ययनले जनाएको छ। अध्ययनका अनुसार २ प्रतिशत महिला कामदारले विदेशबाट बिना पिताका बच्चा लिएर फर्किने गरेको बताइएको छ।
सरकारले वैदेशिक रोजगारी क्षेत्रका समस्याप्रति गम्भीर भएर काम गर्नेपर्ने प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बताएकी छन्।
उनले वैदेशिक रोजगारीका नाममा महिलामाथि भइरहेको शोषण रोक्न सरकारलाई तत्काल पहल पर्ने पनि निर्देशन दिएकी छन्।
महिलामाथि भइरहेको दमन राज्यले रमिता हेरेर बस्नु नहुने उनको भनाइ थियो।
सरकारले वैदेशिक रोजगारी ऐनमा रोजगारीका नाममा हुने मानव तस्करी, बलात्कृत लगायतका विषयमा कडा कानुन बनाएर लागू गर्नुपर्ने वैदेशिक रोजगार विज्ञ गणेश गुरुङले बताएका छन्।
फितलो कानुन हुदाँ रोजगारीका नाममा मानवीय अपराध बढिरहेको उनको भनाइ छ। यस्तै, वैदेशिक रोजगारीका नाममा धेरै महिला बलात्कृत हुदाँ पनि न्यान पाउने अवस्था नरहेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङले बताइन्।
महिलामाथि भइरहेको दमन रोक्न सरकारले गम्भीर भएर काम नगरेको उनको आरोप छ। हाल नेपालबाट वार्षिक १५ प्रतिशत महिला रोजगारीका लागि जाने गरेको अध्ययनमा भनिएको छ।
विश्वमा २५ करोड ५८ लाख वैदेशिक रोजगारीमा रहेको अध्ययनमा भनिएको छ। जसमा ३ लाख ५० हजार महिला वैदेशिक रोजगारीमा सहभागी हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ।
नेपालबाट धेरै मलेसिया गएका महिला कामदार आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको अध्ययनमा भनिएको छ।
त्यसैगरी, मलेसियापछि साउदी गएका धेरै महिला कामदार शोषणमा पर्ने गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।