डडेल्धुरा– विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब डडेल्धुराबाटै नवीकरण हुने भएको छ। बुधबार एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले उक्त सेवाको उद्घाटन गरेका छन्।
अहिले महाकाली अञ्चल यातायात कार्यालयबाट प्राप्त सवारी चालक अनुमतिपत्र मात्र नवीकारण हुने यातायात सेवा कार्यालय डडेल्धुराका प्रमुख दिलिप तामाङले जानकारी दिए।
यातायतको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिएकाले अब केही दिनमा सबै नवीकरण गर्न व्यवस्था मिलाउने काम भइरहेको प्रमुख तामाङले बताए।
उद्घाटनको दिन बुधबार बिहान सवारी चालक अनुमतिपत्र नवीकरण गराउने पहिलो सेवाग्राही पुष्पराज जोशीलाई रसिद हस्तातरण गरी टोपी लगाएर सम्मान गरिएको छ।
स्मार्ट कार्ड नवीकरण सेवाको उद्घाटन गर्दै नगरप्रमुख ओझाले यातायात व्यवस्था विभागसँग डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रबिन्दु भएकाले चालक अनुमतिपत्र पनि डडेल्धुराबाटै वितरण गर्नसक्ने बनाउन अनुरोध गरेका छन्।
यसरी सेवा सुरु हुनु डडेल्धुराका लागि सुखद् भएको बताउँदै नगर प्रमुख ओझाले स्थानीय तहले गर्नु पर्ने सहयोगका लागि आफू प्रतिवद्ध रहेको बताए। सेवा नियमित गर्न विद्युत सेवा र इन्टरनेट आवश्यक हुने यातायात व्यवस्था विभाग काठमाडौंका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताए।
विगतमा कार्यालय मात्रै हुनु र सेवा प्रवाह नहुनु राम्रो नभएको भन्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अबका दिनमा थप सेवा प्रदान गर्न पहल गर्नुपर्नेे बताए।
उद्योग वाण्ज्यि संघ डडेल्धुराका वरिष्ठ उपाध्यक्ष भोजराज भट्टले कार्यालय स्थापनाको लामो समयपछि सेवा सुरु गरेर नवीकरणकै लागि कैलाली, कञ्चपुर पुग्नुपर्ने र हजारौं खर्च गर्नुपर्ने बाध्यता टरेकोमा खुसी व्यक्त गरे।
यातायात व्यवस्था सेवा कार्यालय वि.स. २०७२ सालमा डडेल्धुरामा स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।