जेरूसेलम– इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय रूपमा विभाजन भएकोे छ।
मङ्गलबार गठबन्धनमा प्रभावशाली नेता मानिने अवि गावेयले आफ्नो समूहले आगामी अप्रिल ९ मा हुन लागेको आम निर्वाचनमा इजरायली विपक्षी दलकी चर्चित नेता सेपी लेभ्नीसँगको सहकार्यलाई अगाडी बढाउन नसकिने बताएका हुन्।
गावेयको घोषणासँगै जियानिस्ट (यहुदी) युनियन गठबन्धनको अन्त्य भएको छ। युनियन गठबन्धन सन् २०१५ मा सम्पन्न निर्वाचनमा दोस्रो शक्ति बन्न सफल भएको थियो।
गावेयको लेबर पार्टी र लेभ्नीको हुत्नुआहको गठबन्धन प्रतिपक्षी जिओनिस्ट युनियन रहँदै आएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुडले १ सय २४ सदस्य रहेको संसदमा ३० स्थानमा जित हात पारेको थियो भने विपक्षी गठबन्धनले २४ स्थानसहित दोस्रो दल बन्न सफल भएको थियो।
सन् २०१७ मा गावेयले लेबर पार्टीको नेतृत्व सम्हालेपछि उसको लिभ्नीसँगको सम्बन्धमा असहजता उत्पन्न भएको थियो।
‘म अझैपनि सहकार्य, असल सम्बन्ध र एकताप्रति प्रतिबद्ध छु, तर यसका लागि गठबन्धनमा रहेका नेताहरूबीच मित्रवत् सम्बन्ध रहन आवश्यक छ,’ गावेयले युनियनका संसद सदस्यसँगको छलफलका क्रममा बताए।
गावेयपछि सम्बोधन गर्न पुगेकी लिभ्नीले भनिन्, ‘गावेयको आफ्नो भनाइअनुसार अघि बढ्नेमा मलाई विश्वास टुटेको छ। यसको प्रतिक्रिया आउँदासम्म धैर्य नगुमाउने निर्णय मेरो रहने छ।’
शनिबार दुई नरमपन्थी पक्षधर मन्त्रीहरू नाफ्तली वेनेट र आयलेट साकेदले आफूहरूले यहुदीको मातृ दललाई त्यागेको घोषणा गरेका थिए। उनीहरूले गठबन्धनले धार्मिक तथा धर्मनिरपेक्ष समूहको मत आकर्षण गर्ने दोहोरो नीति अवलम्बन गरेको दाबीसहित सरकारी गठबन्धनबाट अलग्गिने घोषणा गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।