भैरहवा– राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण कार्य सुरु भएको छ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले भवनको शिलान्यास गरी निर्माण कार्यको सुरुवात गरेका हुन्।
९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसगँ सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ।
भवन ८ हजार स्क्यावर मिटर क्षेत्रफलमा निर्माण हुनेछ। निर्माण सुरु भएको कार्गो भवन अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।
‘कार्गो भवनको गुरुयोजना निर्माणदेखि कै फेजबाट काम सुरु गरेका छौँ,’ उनले भने,‘भवन अन्तर्राष्ट्रिय मापदण्ड स्तरीयको हुनेछ।’
उनका अनुसार एप्रोनदेखि कार्गो भवनको बीचमा घाघरा खोला पर्ने हुदाँ विमान आउन मिल्ने गरी पुल निर्माणसमेत गरिने छ।
उनले करिब ९ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेकोले कागजपत्रहरू माथिल्लो निकायमा पुगेको जनाउँदै रकम निकासा भएलगत्तै मुआब्जा वितरण हुने जानकारी दिए।
त्यस्तै भवन शिलायन्स कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीले म्याद अवधिको ४ महिनाअघि नै भवननिर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिए।
यस विमानस्थललाई आधार बनाएर श्रीलंका, म्यानमार, चीन, कम्बोडिया लगायतका देशहरूले विमान सञ्चालन गर्नका लागि निवेदन दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।