रत्ननगर– नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का ४ किशोर अझै फेला परेका छैनन्।
बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन्। दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दै आएका थिए।
बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए।
प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ। अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।