इटहरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले ओली नेतृत्वको वर्तमान सरकार सरकारी कार्यालयलाई लालसलाम गर्ने अखडा बनाउन उद्धत रहेको बताएका छन्। ४३औं मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विवादास्पद धार्मिक संस्थाको कार्यक्रममा सहभागी भएर सरकारले आफ्नो हैसियत देखाएको बताएका थिए। उनले धर्म परिवर्तन गराउन सरकार आफैं लागेको बताएका थिए।
सरकार शालीन र भद्ररूपमा काम गर्नुपर्नेमा सरकार हल्लामा रमाउन थालेको उनको भनाइ थियो।
'नेपाल वैदिक धर्मको उद्गमस्थल हो, बुद्धको जन्मस्थल हो नेपाल,' उनले भने, ' तर सबै धर्मावलम्बीले अपनत्व गरेको देशमा धर्मका नाममा राजनीति हुँदैछ।'
हरेक सरकारी कार्यालयलाई लालसलाम गर्ने अखडा बनाउन सरकार उद्द्त देखिएको बताएका उनले शान्ति सुरक्षा दिन नसक्ने अनि आफैं चिच्याउँदै हिड्ने काममा सरकार लागेको आरोप लगाए।
बिपीले सबैको मान, इज्जत र सबैको प्रतिनिधित्व गर्न मेलमिलापको नीति अख्तियार गरेको उनको भनाइ थियो।
'हिन्दूस्तानका धेरै नेताले बिपीलाई रोक्न खोजेका थिए तर नेपाल नफर्कदासम्म नेपालमाथि समस्या हुनेवाला थियो,' उनले भने, 'पाकिस्तान र इरानमाथि हमला हुँदै थियो भने लेण्दुप दोर्जेलाइ प्रयोग गरेर सिक्किमलाई भारतले आफ्नो कब्जामा लिइसकेको थियो। त्यही बेला नेपालमाथि पनि हमला हुन सक्ने बुझेर उनले मेलमिलापको नीति लिएका थिए।'
बिपीले प्रजातन्त्र र राष्ट्रियता रक्षा गर्न जरुरी छ भन्ने बुझेर राष्ट्र रहेन भने न राजा, न राजनैतिक दल रहन्छन् भन्ने ध्याउन्नमा नेपाल फर्कने सोच बनाएका उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।