काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकारले सत्ता सञ्चालन गर्नै नसक्ने ठोकुवा गरेको छ।
४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यहरुले सरकार बेढंगी भएको आरोप लगाएका छन्।
सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले ल्याएको कर्मचारी अध्यादेशलाई सरकारले तोडमोड गरेको आरोप लगाए। बिपीको मेलमिलापको नीति कांग्रेसले अंगिकार गरेको भन्दै उनले भने– ‘यो सरकार एकलौटी र तानाशाही बाटोमा चलिरहेको छ।’
सरकारले कर्मचारीमा तानाशाही प्रवृत्ति देखाएको भन्दै देउवाले भने– ’यो क्रम सेना पुलिसमा पनि हुन्छ।’
उनले सरकारका कारण पूरै देश आन्दोलित भएको जिकिर गरे।
पार्टीबारे बोल्दै देउवाले कांग्रेसको विधान समावेशी बनेको दाबी गरे। उनले सदस्यता पनि सोही अनुरूप बढाउन नेता कार्यकर्तालाई आग्रह गरे।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान संविधान जोगाउने दायित्व कांग्रेसको भएको दाबी गरे। उनले भने– ‘नेकपाका एक अध्यक्षले संघीयता मनै पराउन्नन्। अर्का अध्यक्षले वर्तमान प्रणालीले विकास हुन सक्दैन भन्छन्।’
दुवै पाइलटले संविधान जोगाउन नसक्ने उनले दाबी गरे।
कांग्रेसले संविधानको कार्यान्वयनको स्वामित्व नलिए संविधान र देश दुर्घटनामा पर्ने उनले बताए। लोकतान्त्रिक प्रक्रियाबाट बरालिएको बेला उक्त शक्तिलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउने दायित्व कांग्रेसको भएको बताए। उनले भने– ‘सरकार बरालिए पनि कांग्रेस हुन्छ।’
पार्टी एक ढिक्का हुनपर्ने धारणा राख्दै उनले दुई नेताको ‘लभ’ले पार्टीमा नयाँ सञ्चार ल्याएको भन्दै प्रेमलाई विवाहमा परिणत गर्न सुुझाव दिए।
विवाह दिगो हुने उनको भनाइ थियो।
देशको प्रधानमन्त्रीले आजैका दिनदेखि पानी जहाजको चढ्न पाइने अभिव्यक्ति आपत्ति जनाए। जनताले प्रधानमन्त्रीको क्षमतामा प्रश्न उठाउने बेला भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।