मनिला– फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षातसहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन्। बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ।
आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ। सरकारी अधिकारीहरुले आँधीपछि ठाउँ–ठाउँमा बाढी र भू–स्खलन गएको बताएका छन्।
नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भू–स्खलन र डुबेर भएको छ। स्थानीयवासीको शब्दमा ‘उस्मान’ भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ।
‘अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ। हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं। केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,’ बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताए।
उनका अनुसार बिकोलमा १६ जना र पूर्वी भिसायासमा ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए। आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन्।
सरकारी मौसम पूर्वानुमान शाखाले उत्तरी फिलिपिन्समा २४ घन्टाभित्र ठूलो वर्षा हुने बताएको छ।
फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन्। यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई गरिबीको दुस्चक्रमा पुर्याउने गरेको छ।
सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म कै सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ। यो आँधीबाट ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।