ढाका– बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १७ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छिन्।
विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन्। प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीचको झडपमा अन्य ८ जनाको मृत्यु भएको छ।
प्रहरी अधिकारीहरुका अनुसार एकजना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ।
बंगलादेशको आइतबारको चुनावमा बलियो सुरक्षा व्यवस्था मिलाइएको थियो। स्थानीय समयअनुसार मतदान अपराह्न चार बजेसम्म भएको थियो। चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने देखाएका छन्। यस चुनावमा विजयी भए शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्नेछिन्।
बंगलादेशका नेताहरुले प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बताएका छन्। साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यानमारबाट भागेका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकामा पनि धेरैले उनको कदमको सराहना गरेका छन्।
तर, कतिपय आलोचकहरुले प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको बताएका छन्। हसिनाले विपक्षी नेतृ एवं पूर्व प्रधानमन्त्री खालिदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्षेका लागि जेलमा परेकी छिन्।
चुनाव हुनुअघि हसिनाको अवामी लिग र जियाको बिएनपीका समर्थकहरुबीच हिंसात्मक झडपहरु भएका थिए। चुनावमा झण्डै ६ लाख सेना र प्रहरी परिचालन गरिएको थियो। देशभर करिब ४० हजार मतदान केन्द्र राखिएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।