विराटनगर– झापामा लागुऔषध (खैरो हेरोइन) कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले विर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक नगरपालिका ६ मा डेरा बस्ने ३६ वर्षीय संग्राम लिम्बुलाई लागुपदार्थसहित पक्राउ गरेको हो।
लागुऔषध ओसार पसारमा प्रयोग गरिएको मे १० प ६३० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनको बयानका आधारमा लागुऔषधको कारोबारमा संलग्न थप तीन जना पक्राउ परेका छन्। लिम्बुले अर्जुनधारा नगरपालिका–१० मा डेरा बस्ने भीम बहादुर अधिकारीलाई लागुऔषध बुझाउने र अधिकारी र उनका परिवारले बिक्री वितरण गर्दै आएका थिए।
प्रहरीले अधिकारीसहित उनकी पत्नी ओममाया खतिवडा अधिकारी र साली रेवतीमाया डाँगीलाई पनि नियन्त्रणमा लिएको छ।
लिम्बुको साथबाट ३१ ग्राम र अधिकारीको कोठाबाट २ सय २ ग्राम खैरो हेरोइन बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।