राजविराज– प्रेसको अत्यधुनिक दुरुपयोग भएको निस्कर्षसहित नेपाल पत्रकार महासंघ सप्तरी शाखाले त्यसलाई रोक्ने निर्णय गरेको छ।
प्रेसको दुरुपयोग भइरहेकोप्रति महासंघले गम्भीरतापूर्वक लिएको र त्यसलाई नियन्त्रण गर्न आवश्यक कदम चालिने महासंघका कार्यबाहक अध्यक्ष श्यामसुन्दर यादवले बताए।
पत्रकार तथा सञ्चार गृहहरूले प्रेस प्रयोजनमा प्रयोग गर्दै आएका सवारी साधनको रेकर्ड राख्ने र अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गरेको पाइए कारबाहीका प्रकृया अघि बढाउने उनले जानकारी दिए।
बैठकले न्यूनतम् योग्यता एवम् मापदण्ड पूरा गरेका व्यक्तिलाई मात्र पत्रकारको रुपमा राख्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ।
न्यूनतम शैक्षिक योग्यतासमेत नभएका र विद्यालय जाने उमेरका बालबालिकालाई समेत पत्रकारको रुपमा खटाउने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको यादवले बताए।
यस्तै, शाखाको वार्षिक साधारण सभा र पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति दिवस आगामी पुस २६ गते मनाउने निर्णय पनि गरिएको छ।
शाखाले पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति दिवसको अवसर पारी हरेक वर्ष एक जना पत्रकारलाई ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।