काठमाडौं- गृह मन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सँग आज कार्यसम्पादन सम्झौता गरेको छ।
गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले आज गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन्।
शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मुल्यांकन गरिनेछ।
अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाहरुमा १०२ पूर्णाङ्क र सीमा नजोडएका जिल्लामा ९९ पूर्णाङ्क रहने छ। प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङ्क प्रदान गरिने सम्झौतामा उल्लेख छ।
कार्यक्रममा गृह सचिव राईले पहिलो चरणमा आज तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागिय प्रमुखसँग सम्झौता गरीने जानकारी दिए।
उनले आवश्यकता अनुसार मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्न सक्ने बताए।
प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मूल्यांकन गर्न सहज हुने विश्वास उनले व्यक्त गरेका थिए। उनले भने, ‘ सम्झौताले सबैमा काम गर्न थप उत्साह प्रदान गर्नेछ। प्रमुखहरुलाई मेरो कामको मुल्याकंन भईरहेको छ भनी आफ्नो जिम्मेवारी पूरा गर्न प्ररित गर्नेछ।’
काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्न समेत सम्झौताले भूमिका खेल्ने गृहसचिव राईको भनाई छ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेका थिए।
सो कार्ययोजनाको बुँदा नं २६ मा ‘विभागीय प्रमुख र कार्यालय प्रमुख, निजामति र प्रहरी कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरिने र कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने’ उल्लेख छ।
यो सम्झौतासँगै प्रजिअहरूको कार्यसम्पादनमा थप सुधार आउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गतका कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गृह मन्त्रालयले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।