काठमाडौं– काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ।
वनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिसनले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो। त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराइएको छ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले नेपाल हिन्दु विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउने पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले वनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गरे। उनले वनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै परिचित विद्धानको रुपमा रहेको उल्लेख गरे।
मालवीयको योगदानलाई नेपालले कहिल्यै बिर्सन नसक्ने पनि प्रचण्डको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।