भरतपुर– चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा आज सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’ले जितेको छ।
प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको ‘बिजुलीकली’ले उपाधि हात पारेको हो। प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए। फस्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेन्ड रनरअप १९ वर्षकी अलिशाकली भइन्।
हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए।
यस्तै हात्ती ‘फास्ट वाक’मा ६ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा सहभागी १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको रेग्मीले बताए।
हात्ती पोलोअन्तर्गत शनिबार सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ। एनआरएनए हङ्कङलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेभेन स्टार फाइनलमा पुगेको हो। निर्धारित समयसम्म ३÷३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको हो।
हात्तीका छावाबीचको फुटबल खेलमा सिजी फुड्स विजयी भएको छ। सिजीले कोकाकोलालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो।
‘समाज, संरक्षण र समृद्धि’ नारासहित यही पुस ११ गतेदेखि सुरु भएको हात्ती महोत्सव आज सकिँदैछ।
(समाचार-रासस/तस्बिर-राजु चाैधरी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।