म्याड्रिड – स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइबारलाई ३–० ले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा रियलले १८ मिनेटमा अग्रता लियो। एइबारका रोद्रिगेज डे ओलिभियराले आत्मघाती गोल गरेपछि रियलले अग्रता लियो। २८ मिनेटमा मार्को एसेन्सियोले रियलको अग्रता दोब्बर पारे।
८२ मिनेटमा डिफेन्डर मार्सेलोले तेस्रो गोल गरेपछि साविक विजेता रियल जिततर्फ लम्केको थियो। मार्सेलोले करिम बेन्जिमासँगको सुन्दर वान टु वान पास खेलेर गोल गरेका थिए।
खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाएका अवसर पटकपटक खेल फालेका थिए। रोनाल्डोका केही प्रहार भने एइबारका गोलकिपर मार्को डिमिट्रोभले विफल पारिदिए। जारी सिजनको ला लिगामा रोनाल्डोले एक गोल मात्र गरेका छन्।
लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई १–० ले पराजित गरेको छ।
नवौं चरणको खेल सकिदा लिगमा बार्सिलोना २५ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको भ्यालेन्सियाको २१, तेस्रो स्थानको रियल म्याड्रिडको २० र चौथो स्थानको एट्लेटिको म्याड्रिडको १९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।