जनकपुरधाम- महन्थ ठाकुरलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट बहुमतले हटाई संयोजक पदमा राजेन्द्र महतोलाई चयन गरिएपछि सुरु भएको पार्टीको आन्तरिक विवाद अहिले आएर उग्र रुप लिन थालेको देखिएको छ।
शुक्रबार साँझ पार्टीको आन्तरिक विवाद यहाँसम्म पुग्यो कि, जनकपुरमा आफ्नै कार्यकर्ताहरुले संयोजक राजेन्द्र महतोको पुत्ला नै दहन गरे।
अहिले राजपाभित्र तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टी समूह बीचको किचलो उत्पन्न भएको भएको छ। संयोजक महतोको शुक्रबार पुत्ला दहनपछि जनकपुरमा उपलब्ध केन्द्रीय समितिको आज आपत्कालीन बैठक गरी प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका सांसद परमेश्वर साहलाई निसाना बनाइएको छ।
जनकपुरमा उपस्थित केन्द्रीय सदस्यको आज बसेको बैठकबाट महतोको पुत्ला दहनमा प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहको 'ग्रान्ड डिजाइन'मा भएको भन्दै साहलाई समेत कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएपछि राजपामा हलचल उत्पन्न गरेको छ।
अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि राजपामा विवाद सुरु भएको हो। निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय भएपछि जिल्ला तहसम्म नै विवाद देखिन थालेको हो।
गत शुक्रबार संयोजक महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि संयोजक राजेन्द्र महतोको शुक्रबार पुत्ला दहन गरिएको थियो।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय महासचिवहरूको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डल परिवर्तन गर्ने निर्णय गरेको थियो। सो अनुरुप निर्णय लिईएको केन्द्रिय महासचिव केशव झाले दाबी गरेका छन्।
तर यता जिल्ला अध्यक्ष मण्डलबाट हटाईएका देवकृष्ण मण्डलले राजेन्द्र महतोले पार्टीमा एकल वर्चश्व तथा हैकमवादी प्रवृति देखाउँदै आफूलाई हटाएको दाबी गरेका छन्। देवकृष्ण मण्डल तथा ज्ञानेन्द्र झा ‘ज्ञानु’ दुवै शरतसिंह भण्डारी पक्षधर नेता हुन्।
यता राजापाकै एक केन्द्रीय नेताले भने, ‘हैकमवादी प्रवृति राजेन्द्र महतोले देखाएको हो भने उनले आफ्नै लविको मान्छे राख्थे, तर धनुषामा अध्यक्ष मण्डलबाट हटाईएका मण्डल र नियुक्त गरिएको ज्ञानु दुवै शरतसिंहका पक्षधर हुन्। अनि कसरी हैकमवादी भयो? यो केही हैन, केन्द्रीय सचिवालयको निर्णयलाई संयोजक राजेन्द्र महतोले आधिकारिता मात्र दिएको हो।’
शुक्रबार साँझ अध्यक्ष मण्डलबाट आफूलाई हटाएको विरोधमा देवकृष्ण मण्डल सहित प्रदेश सचेतक तथा सांसद परमेश्वर साहको नेतृत्वमा संयोजक राजेन्द्र महतोको विरोध गर्दै पुत्ला दहन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।