कालीकोट- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुगेका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताएका हुन्।
मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमूना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिए।
पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हुँदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्र्कटपाता वितरण गर्ने उनको भनाइ छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि बासस्थान नष्ट हुँदा चिसो मौसममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताएका थिए।
करिब ३ करोड, ६ लाख ३३ हजार क्षति भएको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ।
राष्ट्रियसभा सदस्य जीवन बुढाले, विपत् व्यवस्थापनको पूर्वतयारी, उपयुक्त संरचना तथा साधन स्रोतको राहत, वितरणमा एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताएका थिए।
गत आइतबार रातीबाट सुरु भएको आगलागीमा ८७ घर जलेर नष्ट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।