काठमाडौं- समाजमा विशिष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई महानगरीय प्रहरी वृत्त स्वयंभू र सामुदायिक सेवा केन्द्रले सम्मान गरेको छ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूका समाजसेवी सुवर्णमान डंगोललाई सम्मान गरेका हुन्। शुक्रबार आयोजित एक कार्यक्रमका बीच ‘दोस्रो स्वयम्भू रत्न तथा सामुदायिक सेवा स्वर्ण पदक’बाट उनलाई सम्मान गरिएको हो।
सोही कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले २० जना जेष्ठ नागरिकहरुलाई समेत दोसल्ला ओढाई सम्मान गरेका थिए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सामाजिक सेवा मानवीय सेवा भएको चर्चा गर्दै आगामी पुस्तामा सामाजिक सेवाको भावना जगाउन यस्ता सम्मानले प्रोत्साहित गर्ने बताए। प्रहरीले सदैव चुनौतीपूर्ण घडीमा रही काम गर्नुपर्ने भएकोले प्रहरीका राम्रा कामको मूल्याङ्कन हुनपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मेयर बस्नेतले समाजसेवाबाट नै सच्चा जनसेवा हुने डंगोलको अनुसरण गर्नुपर्ने बताए।
सामुदायिक सेवा केन्द्र स्वयम्भूका अध्यक्ष अमिन पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, समाजसेवी एवम् प्रहरी अधिकृतको समेत उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।