कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१ बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलियालाई पानीको अभावमा घर निर्माण गर्न चुनौती थपिएको छ।
पुनःस्थापनमा परेका ‘क’ वर्गको परिचयपत्र पाएका ३७ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको छ। पुनःस्थापनमा परेका परिवारले घर निर्माणको कार्य थाले पनि पानीको अभावमा टाढाबाट पानी बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर घर निर्माण गर्न थालेका छन्।
पुनःस्थापन गरिएको बस्तीभन्दा एक किलोमिटर टाढाबाट स्थानीयवासीले गाडेको बोरिङबाट पानी किनेर घर निर्माणमा जुटेको मनि दमाईंले बताए।
उनले भने, 'किनेको पानी बाल्टी, ड्रममा बोकेर घर निर्माणस्थलमा पुर्याउन निकै चुनौति छ।'
पानीकै लागि एक परिवारले दैनिक ५ सयदेखि १ हजारसम्म खर्च गरिहनुपरेको उनले बताए। 'बस्ती बसाइएको ठाउँमा सानो रकमले हातेपम्प गाड्न सकिँदैन', हरि दमाईंले भने, 'रु एक लाखमाथिको रकम हातेपम्प गाड्नकै लागि लाग्छ, त्यो नसकेर बाध्यताले पानी किन्नुपरेको छ।'
नगरपालिका र दातृ निकायसँग हातेपम्प गाड्नका लागि कयौँ पटक माग गरेपनि सुनवाइ हुन नसकेको उनले गुनासो गरे।
पानी पनि खरिद गर्नुपरे पछि घर निर्माणको लागत खर्च बढ्न थालेको राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले बताए।
लागत खर्च बढ्दा सरकारले भूमि सुधार कार्यालयको पुनःस्थापन समितिमार्फत् मुक्त हलिया परिवारलाई उपलब्ध गराएको घर निर्माणको २ लाख २५ हजार रकमले नपुग्ने उनले जानकारी दिए।
घर निर्माणका लागि लागत बढी हुने भएपछि समाजले समेत २० हजारका दरले प्रतिपरिवारलाई थप रकम उपलब्ध गराउने जनाइएको छ।
सरकारले घर निर्माणका लागि ‘क’ वर्गको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई १ लाख २५ हजारका दरले र जग्गा खरिदका लागि २ लाख रकम प्रदान गर्दै आएको छ।
पुनःस्थापनमा परेका मुक्तहलिया परिवारले खानेपानीसमेत किनेर खाँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।