जनकपुर- राष्ट्रिय जनता पार्टी(राजपा)का कार्यकर्ताहरूले जनकपुरमा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाएका छन्।
जिल्ला अध्यक्षमण्डलका एकजना सदस्यलाई हटाई अर्कोलाई जिम्मेवारी दिइएको भन्दै राजपा कार्यकर्ताहरुले अध्यक्षमण्डलका संयोजक महतोको पुत्ला जलाएका हुन्।
संयोजक महतोले शुक्रबार जिल्ला अध्यक्षमण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाई उक्त पदमा युवा नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई जिम्मेवारी दिने निर्णय गरेका छन्।
अध्यक्षमण्डल सदस्यबाट मण्डललाई हटाउने निर्णयको विरोध गर्दै जनकपुरको जनक चोकमा साँझ जम्मा भएका राजपा कार्यकर्ताहरुले महतोको पुतला जलाए।
प्रदर्शनको क्रममा राजपा कार्यकर्ताहरुले महतोविरुद्ध चर्को नाराबाजी गर्दै निर्णय फिर्ता लिन माग गरेका छन्।
विरोध प्रदर्शनमा निस्कासन गरिएका मण्डलसहित राजपा सचेतक परमेश्वर साह, जिल्ला अध्यक्षमण्डलका सदस्य सतिशलाल दास, पार्टी सचिव धिरेन्द्रबहादुर सिंह, कोषाध्यक्ष रामविनोद चौधरी, राजपाका युवा नेता अरुण झालगायतका नेता कार्यकर्ताहरु सहभागी थिए।
अध्यक्षमण्डल सदस्यबाट हटाइएका मण्डल शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का जिल्ला अध्यक्ष हुन्।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।