काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ।
अपरेसन भ्वाइस फक्स अभियान अन्तर्गत ब्युरोबाट खटिएको टोलीले वाफलको एक घरमा छापा मारेर अवैध कल बाइपासका उपकरणसहित चार व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा शनी अर्जुन -२ घर भएका ३५ वर्षीय महेश घिमिरे, सुनसरी इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सन्तोष भन्ने खेमराज अधिकारी, चितवन रत्ननगर नगरपालिका १० का २८ वर्षीय भरत दुलाल र सिन्धुली कमलामाई -७ घर भएका ३६ वर्षीय रञ्जन थापा मगर रहेका छन्।
वाफलमा रामगोपाल श्रेष्ठ र सरिता नेपालको घरमा कोठा भाडामा लिई भरत दुलाल र रञ्जन थापाले अवैध कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारेको सिआइबीले जनाएको छ ।
छापा मारेको स्थानबाट राउटर, इथरनेट, फाइवर टिफिन बक्स, ल्यापटप लगायत उपकरण बरामद गरिएको जनाइएको छ।
सिआइबीका अनुसार, अवैध अन्तर्राष्ट्रिय कल बाइपास विरुद्धको अभियानमा हालसम्म एक सय स्थानमा गरिएको कारबाहीमा नेपाली १२५ र विदेशी ३१ गरी १५६ जनालाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।