काठमाडौं– राष्ट्रिय गानका रचनाकार एवम् कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता मानबहादुर राईको ७१ वर्षको उमेरमा निधन भएको छ। समाजसेवी तथा शिक्षासेवी राईको आफ्नै निवास ओखलढुङ्गाको हिलेपानीमा गए राति १ बजे निधन भएको हो।
राई विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए। केही दिनयतादेखि असहज महसुस गर्दैआएका राईको सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए।
विसं २००४ साल असोजमा जन्मिएका राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त भएपछि सामाजिक सेवामा संलग्न थिए। सामाजिक जीवनमा समर्पित राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए।
राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ।
राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।