अभिनेत्री बेनिशा हमालसँग गजबको आत्मविश्वास छ। उनी भन्छिन्, ‘मलाई समय दिने हो भने जस्तो भूमिकामा पनि अभिनय गर्न सक्छु।’
बेनिशाको यो आत्मविश्वास उनको आगामी फिल्म ‘झ्यानाकुटी’ को ट्रेलर र फस्ट लुकमा देख्न सकिन्छ।
यो फिल्ममा उनी मालतीको चरित्रमा देखिँदै छिन् । उनलाई बच्चाकी आमा एवं स्वाभिमानी महिलाको भूमिकामा देख्न सकिनेछ।
ट्रेलरबाट प्राप्त प्रतिक्रियाले दंग उनले नेपाल लाइभसँगको कुराकानीमा भनिन्, ‘स्क्रिप्ट हात परेको ६ महिनापछि फिल्म फ्लोरमा गयो । यसअघि वर्कसप पनि भयो । यसले गर्दा मैले गाउँले भूमिकामा आफूलाई तयार पार्ने पर्याप्त समय पाएँ। त्यसैले फिल्मको चरित्र मालती खड्का विष्टमा छिरेर काम गरेकी छु।’
सिमोस सुनुवार निर्देशित एवं अभिनेत्री निशा अधिकारी निर्मित यो फिल्म मंसिर १ मा रिलिज हुँदैछ । फिल्मबाट बेनिशा निकै आशावादी छिन् । भन्छिन्, ‘यसअघि मलाई कसैले तपाईंले गरेका चरित्रमध्ये कुन राम्रो लागेको छ भन्दा मेरो जवाफ हुन्थ्यो– त्यो भूमिका अझै आउन बाँकी छ।’ तर, ‘झ्यानाकुटी’ पछि आफूले यसको जवाफ पाएको दाबी गर्छिन्।
फिल्मले नारी संवेदना र उसको संघर्षको कथालाई पस्किने प्रयास गरेको छ । उनले ‘मालती’ चरित्रलाई न्याय गर्न काठमाडौंको काठ क्षेत्र तथा काभ्रेतिरका विवाहिता आमाहरुको आनीबानी अध्ययन गरेको बताउँछिन्। बोलीको लवज भने उनले आफ्नै हजुरआमाको बनाएको बताइन्।
‘काठ तथा काभ्रेका विवाहित महिला र गाउँबाट काठमाडौंमा बस्ने आएका दिदीबहिनीको जीवनशैली अध्ययन गरेर यस्तै चरित्र निमार्ण गरेकी हुँ । चरित्र बलियो बनाउन वर्कसपले पनि सघायो’, उनले भनिन्।
म्युजिक भिडियो हुँदै ’स्वर’ बाट फिल्ममा प्रवेश गरेकी बेनिशाले ‘झ्यानाकुटी’ को एक लाइन सुनेर नै फिल्म गर्न राजी भएको बताइन्।
‘फिल्ममा ठूलो कथाभन्दा पनि समाजको सानो घटनालाई उद्घाटित गर्न खोजिएको छ।’
पोस्टरमा बेनिशाले अभिनेता सौगात मल्ललाई आफ्नो काँधमा जुरूक्क उठाएकी छिन् । ट्रेलर रिलिज समारोहमा पनि उनले सौगातलाई बोकेर फिल्ममा साँच्चिकै बोकेको प्रमाणित गर्न खोजिन्।
‘वर्कसपमा मैले निर्देशक सिमोसलाई बोकेको थिएँ। त्यो बेला गाह्रो भएको थियो, तर सुटिङमा सौगातजीलाई सजिलै बोकेँ’, उनले भनिन्।
सौगातलाई बोकेको पोस्टरले तारिफ बटुलिरहेको बेला बेनिशाले प्रतिक्रिया दिइन्,‘रिस उठ्यो भने उचालेर फाल्दिऊँ जस्तो लाग्छ।’
जीवनमा कसैलाई टिपेर फाल्नुपर्ने परिस्थिति आइपरेको छ त ?
उनले हाँस्दै भनिन् 'त्यस्तो त आजसम्म छैन।'
'महसुस', 'कालो पोथी', 'मोक्ष' जस्ता फिल्ममा पनि काम गरिसकेकी बेनिशाको अर्को फिल्म ‘ब्लाइन्ड रक’ पनि प्रदर्शनको तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।