काठमाडौं– बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक पाएको छ।
असोज २७ देखि कात्तिक ५ गतेसम्म सञ्चालित अभ्यासमा सहभागी हुन नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको टोली गएको थियो।
युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने सो सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिन्छ।
कठिन भौगोलिक इलाकामा सञ्चालन हुने अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको बन्दोबस्तीका सामानसहित लगभग ५० किलोमिटर दूरी पार गर्छन्।
अभ्यासमा बेलायती फौजका एक सय ११ सहित २८ देशका गरेर १ सय ३९ सैन्य टोलीको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।