काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनोट परीक्षा सबैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने बताएका छन्।
प्रदेश प्रहरी तालिम केन्द्र, नेपालगञ्जको बिहीबार निरीक्षण भ्रमणको क्रममा महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।
प्रहरी जवानमा नयाँ भर्नाका लागि हाल छनोट परीक्षा भइरहेको उक्त तालिम केन्द्र अवलोकनको क्रममा प्रहरी महानिरीक्षक खनालले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी सेवामा सामान्य नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड दिए। परीक्षामा असफल हुने प्रशिक्षार्थीहरुलाई समेत प्रहरीबाट सभ्य, शिष्ट र सम्मानजनक व्यवहार हुनुपर्ने उनले उल्लेख गरे।
सुरक्षा प्रदान गर्ने निकाय कहिल्यै नराम्रो हुन नहुने र आफ्नो दायित्व के हो भन्ने बुझेर सबै तहका प्रहरी कर्मचारी अझै बढी लगनशील हुनुपर्ने प्रहरी महानिरीक्षक खनालको भनाइ थियो।
प्रशिक्षण संगठनको मुटु भएकोले सबै प्रशिक्षकहरुले अनुशासित भएर दक्ष जनशक्ति उत्पादन गर्न दत्तचित्त हुनुपर्नेमा उनको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।