भद्रपुर- झापाको मेचीनगरमा २ सय ५० प्रजातिका चराको बासस्थान छ। यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गर्दै आएका मेचीनगर–६ काँकडभिट्टाका चरा विज्ञ देवेन्द्र खरेलले बताए।
धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ। नेपालमा करीब ९ सय प्रकारका चरा पाइनेमा २ सय ५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ छ।
खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो। मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले बताए। चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ।
मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलकाे बुझाइ छ।
मेचीनगर–६ काँकडभिट्टस्थित ‘इस्टपोइन्ट फोटो एन्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहेका उनले विगत तीन वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने कार्य गर्दै आएका छन्।
'मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रुपमा विकसित गर्न सकिने सम्भावना छ', खरेलले भने, 'चरा प्रकृतिका अमूल्य उपहार हुन्, यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ।' चिसो मौसममा बिहान ७ बजेदेखि ९ बजेसम्म र गर्मी मौसममा ६ बजेदेखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ।
आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच बनाएका छन् खरेलले।
घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले जोड दिए।
मेचीनगर क्षेत्रमा ८ सामुदायिक वन रहेका र विभिन्न प्रजातिका चरा पाइने गरेको जानकारी दिँदै सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष वेदप्रसाद भण्डारीले खरेलजस्ता चराको अध्ययन र अनुसन्धानमा रहेको व्यक्तिलाई सहयोग गर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।