पोखरा– राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै बिहीबार उच्च अदालत पोखरामा रिट दर्ता गरे।
उक्त दिन अंग्रेजी नयाँ वर्ष (जनवरी १) पर्छ।
यस अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) ले २० वर्षदेखि सडक महोत्सव गर्दै आइरहेको छ।
अंग्रेजी नयाँ वर्ष प्रवेश गरेको अवसरमा उक्त दिन आकाशमा आतिसबाजी गर्ने गरिन्छ। त्यसरी आतिसबाजी गर्दा जलचर र थलचरलाई असर गर्ने पौडेलको रिटमा उल्लेख थियो।
पौडेलले दायर गरेको रिटमा उच्च अदालत पोखराले शुक्रबार कारण देखाऊ आदेश जारी गर्यो र बुधबार भएको बहसबाट नपड्काउन आदेश दिइसकेको छ।
यो वर्ष विगतका वर्षमा जस्तै अंग्रेजी नयाँ वर्षको दिन आकाशमा ठूलो संख्यामा आतिसबाजी हुनेछैन। महोत्सव पुस १३ देखि १७ गतेसम्म चल्ने छ।
महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै रेबानका भूतपूर्व अध्यक्ष सूर्य भुजेलले सडक महोत्सवकै सबैभन्दा चर्चित आतिसबाजी भएको दाबी गरेका छन्।
‘देशभित्र र बाहिरका ठूलै संख्यामा यहाँको आतिसबाजी हेर्नै आउँछन्,’ उनले भने, ‘जहाँसम्म यो जलचर र थलचरलाई हानी गर्छ भन्ने कुरा छ। त्यसमा त हामीले ध्यान दिइरहेकै छौं नि।’
महोत्सवले पोखराको पर्यटनलाई मात्रै नभएर समग्र देशलाई चिनाइरहेको भुजेलले दाबी गरे। उनले भने, ‘एकै रातमा ६०/६० हजार स्वदेशी विदेशी पर्यटक आउँछन्।
महोत्सवले २० वर्ष पहिले र अहिलेको लेकसाइडमा कति फरक पारेको छ। त्यो पनि विश्लेष्ण गर्नुपर्छ,’ उनले। राज्यले नै पटाकाजन्य नपड्काउन आदेश दिए आफूहरु मान्न तयार रहेको प्रस्ट्याए।
‘यहाँ स्वदेशी पर्यटकको मात्रै आगमन हुँदैन। विदेशीहरुको मुख्य चाड भनेकै न्यू इयर र क्रिसमस हो। त्यो समयमा उनीहरु घुम्न नेपाल आउँछन्,’ भुजेलले भने, ‘उनीहरूको वर्षमा एकचोटी आउने चाडलाई भव्य बनाइदिएर नेपालकै पर्यटन व्यवसायलाई फाइदा पुगेको छ।’
उनले आतिसबाजीको चर्चाकै कारण स्ट्रिट फुड फेस्टिबभबाट पोखरा स्ट्रिट फेस्टिभलसम्म आइपुगेको सुनाए।
पौडेलको रिटमा पोखरा महानगरपालिका, पोखरा नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, उद्योग, वन तथा वातावरण मन्त्रालय, रेबान अध्यक्ष बोधराज भुजेल, पोखरा पर्यटन परिषद लगायतलाई विपक्षी बनाइएको थियो।
‘फेवातालका जलचर र सिमसार क्षेत्रमा रहेका पक्षी प्राणी तथा रानीवनका अप्राप्य जनावरहरुलाई आवाजले प्रभाव पर्छ,’ रिटमा उल्लेख छ, ‘पटकपटक गैरकानुनी काम नगर्नुुस् भन्दा पनि विपक्षीले निस्क्रियता देखाएपछि अदालतमा रिट दायर गर्नुपरेको हो।’
उनले २०७१ सालमा पनि सडक महोत्सवका अवसरमा आतिसबाजी रोक्न निवेदन दिएका थिए। तर, सो निवेदन कारणबस खारेज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।