जनकपुर- वीरगंजमा प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर गत शुक्रबारदेखि भइरहेको विद्यार्थी आन्दोलनमा आज प्रहरी र विद्यार्थीबीच झडप भएकाे छ।
प्रहरीले बल प्रयोग गरेर प्रदर्शन रोक्ने प्रयास गर्दा आक्रोसित विद्यार्थीले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि झडप भएको हाे।
झडपमा प्रहरीको लाठी चार्जबाट चारजना विद्यार्थी घाइते भएका छन्। यस्तै विद्यार्थीको ढुंगा प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन्।
प्रधानाध्यापकको सरुवाबाट माइस्थान विद्यापिठ माविका विद्यार्थी असन्तुष्ट भई आन्दोलन गरेका थिए।
झडपमा माइस्थान विधापिठ माविको कक्षा १० मा अध्ययनरत सोनु सिंह, रोहित चौरसिया, नितेश यादव र राहुल सिंह तथा प्रहरी जवान मुकेश यादव घाइते भएका छन्।
उनीहरू सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ। वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापक विनोद मेहताको पूर्वाग्राही ढंगले सरुवा गरेको आरोप लगाउँदै गत शुक्रबारदेखि विद्यार्थीले सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनमा विद्यार्थीलाई उक्साएको भन्दै नेपाल विद्यार्थी संघ पर्साका सभापति विश्वास द्धिवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
विद्यार्थीले प्रदर्शनलाई झन् उग्र बनाएपछि उनलाई रिहा गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।