कञ्चनपुर– साहारा युवा क्लब पहलमानपुर र सुदुरपश्चिम–११ स्पोर्टस क्लब फारवेष्ट पशुपति कपको चौथो संस्करणको सेमिफाइनलमा पुगेका छन्।
साहाराले गौरीगंगा–११ माथि र सुदुरपश्चिम–११ ले नवदुर्गा युवा क्लबलाई हराउँदै दुवै सेमिफाइनल पुगेका हुन्। बुधबार धनगढी रंगशालामा भएको तेस्रो खेलमा साहाराले गौरीगंगा–११ स्पोर्टसलाई ६–० को फराकिलो अन्तरले हरायो।
शानदार जितमा जनक लिङ्गेल र उमेश रेग्मीले २–२ गोल गरे। जनकले पहिलो हाफको ७ औं मिनेट र दोस्रो हाफको १८ औं मिनेटमा गोल गरे।
उमेशले दोस्रो हाफको १२ औं र १६ औं मिनेटमा गोल गरे। साहाराका लागि दोस्रो हाफको २३ औं मिनेटमा मोहन थापा र २८ औं मिनेटमा रितेश मल्लले गोल थपे। बुधबार भएको दोस्रो खेलमा भने सुदुरपश्चिम–११ले नवदुर्गालाई १–० ले पराजित गरेको छ।
१० खेलाडीमा सीमित नवदुर्गालाई हराउने क्रममा सुदुरपश्पचि–११ का सन्देश सुनारले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरे। उनी नै म्यान अफ द म्याच भए।
नवदुर्गाका चक्र चिमलाले दोहोरो पहेलो कार्ड पाएपछि नवदुर्गा पहिलो हाफको २८ औं मिनेटपछि १० खेलाडीमा सीमित भएको थियो। चक्रले पहिलो हाफको ८ औं र २८ औं मिनेटमा पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए।
प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम र बुधबार भएको पहिलो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले जित्यो। जोनापुरको मदरल्याण्ड युवा क्लबलाई २–० ले हराउँदै आयोजक टोली क्वाटरफाइनलमा पुगेको हो।
फारवेष्टका लागि पहिलो हाफको ७ औं मिनेटमा कुँवेर सिंह र दोस्रो हाफको १४ औं मिनेटमा चेतन कठायतले गोल गरेका थिए।
पुस १४ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत भोलि क्वाटरफाइनलका दुई खेल हुनेछन्।
प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले दुई लाख पाउनेछन्।
उत्कृष्ट खेलाडीहरूले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।