काठमाडौं– राष्ट्रिय जनता पार्टी,नेपालले पार्टी महाधिवेशन तयारीको कामलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएको छ।
बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डल बैठकले पार्टी महाधिवेशनको तयारी अन्तर्गत पार्टी सदस्यता वितरणको कामलाई गति दिन जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिने निर्णय गरेको हो।
सोही कामलाई प्रभावकारी बनाउन यही पौष १८ गते जिल्ला स्तरीय विस्तारित बैठक र पौष २५ गते वडा स्तरीय विस्तारित बैठक सम्पन्न गर्न पनि जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिने निर्णय गरिएको पार्टीका केन्द्रीय अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिए।
पार्टीले आगामी बैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ।
बैठकले महाधिवेशनको तयारीका लागि सक्रिय र साधारण सदस्यता वितरण अभियानका लागि माघ १५ गतेसम्म समय पनि थप गरेको छ।
सक्रिय र साधारण सदस्य वितरण अभियानका लागि माग १५ गतेसम्मको म्याद पनि थप गरिएको नेता यादवले बताए।
बैठकमा प्रधानमन्त्री केपी ओलीले मागेको एक हप्ताको समयमा पनि संविधान संशोधन प्रक्रिया अघि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा पनि सामान्य छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।