दाङ- देउसी-भैलो कार्यक्रममा एक व्यक्तिको मृत्यु भएपछि दाङमा प्रशासनले आइतबारदेखि देउसी-भैलो खेल्न रोक लगाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा साजखुट्टीमा भैलो खेल्ने क्रममा चक्कु प्रहार हुँदा मृत्यु भएपछि प्रशासनले देउसी-भैलोमा रोक लगाएको हो । दाङमा तिहार सकिएको एक सातासम्म पनि देउसी-भैलो खेल्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले रमाइलोको नाममा विकृति बढेको गुनासो आएपछि देउसी-भैलोमा रोक लगाइएको बताए। 'भैलो खेल्ने क्रममा विवाद हुँदा मान्छे मारिए, यस्तो रमाइलो किन चाहियो भनेर प्रतिबन्ध लगाउँदै प्रहरी परिचालन गरेका छौं’, श्रेष्ठले भने।
प्रशासनको आदेश अनुसार देउखुरी क्षेत्रको लमहीमा पनि देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रहरी प्रमुख नरेश ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।