काठमाडौं– राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारको चर्को आलोचना गरेका छन्। बुधबार संसदमा बोल्दै महतोले मुलुकमा भेदभावले चरम सीमा नाघ्न लागिसकेको बताए।
'प्रचण्डले भनेजस्तो सबै ठिकठाक छैन। यो संसदमा निर्वाचित सांसद बस्नुपर्छ कि पर्दैन?' आफ्ना नेता रेशम चौधरीको प्रसंग उठाउँदै महतोले भने, 'प्रचण्डजी तपाईंले १० वर्ष आन्दोलन गर्नुभयो। हजारौं मान्छे सहादत भए। सुरक्षा निकाय मारिए। कसलाई मुद्दा लाग्यो। को जेलमा छ। जनताबाट निर्वाचित रेशम चौधरी जेलमा बस्नुपर्छ? थारु हुँदैमा जेलमा बस्नुपर्ने? यही हो लोकतन्त्र, यसैको लागि लडेका हौ हामी?'
उनले एक मुलुकमा दुई वटा व्यवहार भएको भन्दै सरकारको आलोचना गरे। नेकपा अध्यक्ष प्रचण्डलाई उनले सोधे, 'तपाईं आन्दोलन गर्दा प्रधानमन्त्री हुने, अनि त्यो थारुको बच्चा आन्दोलन गर्दा जेलमा बस्नुपर्ने? अनि सबै ठिक भयो? शान्ति भयो? यसरी शान्ति हुन सक्दैन। कुन दिन विस्फोट हुन्छ ठेगान छैन।'
उनले निर्वाचित सांसदलाई संसदमा प्रवेश गर्ने वातावरण नबनाउनु लोकतन्त्र र जनमतको अपमान भएको बताए। 'लहरो तान्दा पहरो जान्छ याद गर्नुस्', उनले चेतावनीको भाषामा भने, 'अत्याचारको पनि एउटा सीमा हुन्छ।'
निर्मला पन्तका बलात्कारी कहाँ छ भन्दै महतोले सरकारलाई प्रश्न गरे।
उनले संघीयतापछि पनि सरकार प्रभावकारी हुन नसकेको उदाहरण दिँदै भने, 'टोलटोलमा सरकार पुग्नुपर्ने, पोलपोलमा पुग्यो।'
संविधान अपुरो भएकाले संशोधन गर्न भनिरहेको जानकारी गराएको भन्दै उनले संविधानलाई गीता-कुरान-बाइबल बनाइएको बताए। अन्य ६ वटा जस्तै सातौं संविधान पनि नहोस् भन्नेमा महतोले सचेत गराए।
आफूहरुको सहनशीलतालाई कमजोरी नठान्न पनि सरकारलाई उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।