राजविराज– अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको दुईदिने शैक्षिक हड्तालका कारण बुधवार सप्तरीलगायत प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ।
नेपाल शिक्षक महासंघका जिल्ला शाखाहरुले मंगलबार प्रेस विज्ञप्ति जारी गरेरै शैक्षिक हड्तालको आह्वान गरेका थिए।
अस्थायी शिक्षकलाई विस्थापित हुन नदिन उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुस ११ र १२ गते सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ सप्तरीका सचिव घनश्याम प्रसाद देवले बताए।
शैक्षिक हड्तालका कारण सप्तरीका ४ सय ११ सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । प्रदेश २ अन्य ७ वटै जिल्लामा पनि विद्यालय बन्द भएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक सुरेशकुमार यादवले जानकारी दिए।
शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख शंकरराज लुइँटेलले महासंघको आह्वानमा विद्यालय बन्द गरिएको पुष्टि गरे। उनले भने, ‘अस्थायी शिक्षकको समर्थनमा महासंघले शैक्षिक हड्ताल गरेको हो, सबै विद्यालय बन्द छन्।’
शिक्षक सेवा आयोगको गत असार २९ र ३० गते सम्पन्न आन्तरिक परीक्षामा सामेल भएका मध्ये असफल भएका शिक्षकहरुलाई पनि विस्थापित गर्न नपाइने भन्दै आन्दोलन सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।