मुम्बई (एजेन्सी)– सबै स्टार खेलाडीका छोराछोरी आफ्नो अविभावक झै स्टार बन्छन् भन्ने कुनै ग्यारेन्टी छैन्। यस्तै, भारतीय क्रिकेटका चर्चित ब्याट्सम्यान सचिन तेन्दुलकरका १७ वर्षीय छोरा अर्जुन पनि भविष्यमा स्टार क्रिकेटर नै बन्छन् भन्ने ग्यारेन्टी छैन्।
तर, उनी राष्ट्रिय टोलीमा पर्न मेहनत गरिरहेका छन्। सचिन ब्याटिङका लागि चर्चित थिए। तर, उनका छोरा तिब्र बलिङमा आफ्नो भविष्य खोजिरहेका छन्।
यसै सन्दर्भमा अर्जुनले शुक्रबार न्युजिल्यान्ड विरूद्ध भारतको एकदिवसीय शृंखला सुरु हुनुअघि नेट्समा कप्तान विराट कोहलीलगायत अन्य खेलाडीलाई बलिङ गरेका थिए। उनले नेट्समा भारतीय टोलीका स्टार ब्याट्सम्यानहरुलाई ब्याटिङ गर्दा प्रमुख प्रशिक्षक रवी शास्त्री र बलिङ प्रशिक्षक भरत अरुण नजिकै थिए।
अर्जुन भर्खरै मुम्बईको युथ–१९ टिममा छानिएका थिए। उनले भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र अजिङ्क्य रहाणे तथा मध्य क्रमका ब्याट्सम्यान केदार जाधवलाई पनि बलिङ गरेका थिए।
पछि उनी बलिङ प्रशिक्षक अरुणसँग गफ गरिरहेको भेटिएका थिए। अर्जुनले पहिलो पल्ट भारतीय टिमलाई बलिङ गरेका होइनन्। यसअघि आइसिसी महिला विश्वकपको फाइनल अगाडि उनले लर्ड्सको नेट्समा भारतीय टोलीलाई बलिङ गरेका थिए।
तेन्दुलकरको पारिवारीक घर लडर््स मैदान नजिकै छ। त्यसैले उनी प्रायः लर्ड्स मैदानमा देखा पर्ने गरेका छन्। यसै वर्षको जुलाईमा दक्षिण अफ्रिका विरुद्ध पहिलो टेस्ट शृंखला अगाडि लर्ड्सको अभ्यास सत्रमा अर्जुनको योर्कर बलमा जोनी बेयरस्ट्रो घाइते भएका थिए। उनको खुट्टाको औलामा चोट लागेको थियो।
गत वर्ष उनी अन्तर क्षेत्रीय प्रतियोगितामा पश्चिमी क्षेत्रको युथ–१६ टिममा छनोट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।