काठमाडौं– नेकपाको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मात्रै धारणा राखेका छन्। मंसिर २९ गतेदेखि जारी बैठकमा स्थायी समिति सदस्यहरुले राखेको धारणाका बारेमा आज प्रचण्डले जवाफ दिएका थिए।
सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाई विवाद समाधान गर्न प्रचण्ले जोड दिएका छन्। उनले जारी बैठकबाटै सबै विवाद टुंगो लगाउनुपर्ने बताएका थिए। उनले स्थायी समितिबाटै कार्यदल गठन गर्न र त्यसलाई बढीमा पुस अन्त्यसम्मको म्याद दिन उनले प्रस्ताव दिएको एक नेताले बताए।
'अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर, त्यसको सेरोफेरोमा रहेर बैठकमा व्यक्त स्थायी समिति सदस्यहरुको विचार र सुझाबलाई पनि ध्यान दिँदै आफ्नो विचार प्रकट गर्नुभएको छ', प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'उहाँले पार्टी एकताको ऐतिहासिक महत्त्व, त्यसको वस्तुगत र आत्मगत पक्षको बारेमा विचारहरु राख्नुभएको छ।'
'प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समितिका सदस्यहरुबाट व्यक्त विचार सुझाब आलोचना सबैलाई ध्यान दिएर त्यसका सकारात्मक पक्षहरुलाई समावेश गर्दै यो प्रतिवेदनलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नु उपयुक्त हुन्छ', प्रचण्डको भनाइ उदृत गर्दै श्रेष्ठले भने, 'र, त्यो परिमार्जित प्रतिवेदनले आजको पार्टीको आवश्यकता राष्ट्रको आवश्यकता सम्बोधन गर्दै पार्टी एकतालाई झन् बलियो बनाउनेगरी अगाडि बढ्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ।'
प्रचण्डले स्थायी समितिमा भएको छलफलबाट पार्टी एकतालाई बलियो बनाउने मात्रै होइन, सरकारलाई सफल बनाउने पनि आधार प्रदान भएको बताएका थिए। उनले सरकारका सकारात्मक कामहरुको दृढतापूर्वक प्रचार गर्ने, सरकारको रक्षा र प्रचारमा एकतावद्ध भएर अगाडि बढ्ने अपिल पनि गरेका थिए।
उनले बैठकमा उठेका धारणाले नेतृत्वको कमीकमजोरीलाई बुझ्न मद्दत पुर्याएको बताएका थिए। त्यसबाट शिक्षा लिएर सच्याउन अग्रसर हुनुपर्ने उनको धारणा छ।
पार्टी र सरकारलाई अलगथलग होइन, द्वन्द्वत्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउन सम्पूर्ण रुपले सहयोग गर्ने र सरकारले पार्टीलाई सहयोग गर्ने वातावरण बनाउने र सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्न प्रचण्डले जोड दिएका थिए।
प्रचण्डले दिएको वक्तव्यले धेरै समस्याहरुको समाधान गरेको नेता झलनाथ खनालको धारणा छ। 'अरु सबै समस्याहरुको समाधान गर्नका लागि केन्द्रीय कमिटीको एउटा कार्यदल बनाएर हल गर्नुपर्छ भन्नुभएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।