राजविराज– सरकारी ठेक्का लिएर विद्युत चोरी गरेको आरोपमा विद्युत ऐनअनुसार रसुवा रोशन कन्स्ट्रक्सनले ४२ हजार १ सय ५२ रुपैयाँ जरिवाना तिरेको छ।
राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएको रसुवा रोशन कन्स्ट्रक्सन जनकपुरले विद्युत चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो। हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि कम्पनीले सोझै विद्युत पोलमा हुकिङ गरी विद्युत प्रयोग गरिरहेको पाइएपछि उक्त जरिवाना तिराइएको वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए।
उनका अनसार विद्युत चोरी गरी निर्माण काम गरिरहेको जानकारीका आधारमा प्राधिकरणको टोलीले रड काट्ने दुई थान कटर, तीन थान पानी तान्ने पम्प र दुई थान चिम विद्युतको पोलमा हुकिङ गरिरहेकै अवस्थामा बरामद गरिएको थियो।
विद्युत चोरी गरी निर्माण कम्पनीले काम गरिरहेको पाइएपछि विद्युत ऐनअनुसार रसुवा रोशन कन्स्ट्रक्सनसँग ४२ हजार १ सय ५२ बुझाउन विद्युत प्राधिकरणले पत्र काटेको प्रमख साहले जानकारी दिए।
सोही पत्रअनुसार कन्स्ट्रक्सनले उक्त जरिवाना तिरेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।