सोलुखुम्बु– जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोसी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन्।
पुस ५ गतेको मन्त्रीस्तरीय बैठकले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोसी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन्। कोसी पारीका साविक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगिसकेको छ।
गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको भए पनि सहज नभएको बस चालक बलराम थापा बताउँछन्। नदीमा १६ ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको थियो। ‘ह्युमपाइप बेलिब्रिज जस्तो सहज हुँदैन,’ उनले भने। पानी बग्ने सबै क्षेत्रमा ह्युमपाइप छैन। आधा पानीमै हिँड्नुपर्ने हुँदा समस्या हुने गरेको छ।
दूधकोसीमा बेलिब्रिज निर्माण भए जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ। कृषि उपज बजार लैजान तथा बाह्य सामग्री ल्याउन पनि सहयोग पुग्ने छ। ‘ह्यमुपाइप पूरै खोलामा राख्न नसक्दा सवारीसाधन चलाउन निक्कै गाह्रो हुन्थ्यो,’ अर्का चालक मानबहादुर घतानीले भने। उनले पक्की पुल बनाउन पहल गर्न आवश्यक रहेको बताए।
दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।