जनकपुर– १५ वर्षीया बालिका संझा माझी मुसहरको बलात्कारपछि हत्या भएको भन्दै उनकी आमाले दुई जनाविरुद्ध किटानी जाहेरी दिएकी छन्।
सर्लाहीस्थित कविलासी नगरपालिका ७, बालिका माझीको बलात्कार गरी हत्या गरिएको दाबी गर्दै आमा फुलकुमारीले सोही ठाउँ निवासी विनय राय र चुनचुन रायबिरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा किटानी जाहेरी दिएकी हुन्।
गत मंसिर १८ गते साँझ ७ बजे घरबाट निस्किएकी बालिका माझीको शव भोलिपल्ट बिहान घरदेखि करिब सय मिटर पर गोठमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
मृतककी आमाले छोरी झुण्डिएको डोरी खुकुलो पाइएको तथा जिब्रो पनि बाहिर ननिस्किएकाले राती नै छोरीको बलात्कारपछि हत्या गरी गोठमा झुण्ड्याएको आरोप लगाएकी छन्।
घटनापछि केही व्यक्तिले यसलाई आत्महत्या बनाउन प्रयास गरिरहेको र आफूलाई पनि घटनाबारे कुरा नउठाउन डर/त्रास देखाएका कारण समयमै उजुरी गर्न नसकेको उनले बताइन्।
आरोपितहरूले हत्या भएको केहिदिन पहिले बालिकालाई जबरजस्ती गर्न खोजेको आरोप फुलकुमारीले लगाएकी छन्।
आरोपित दुई युवाले केही दिन अगाडी गाँजा खाएर नसाको सुरमा घरमै आएर पनि परिवारका अन्य महिलामाथि जबर्जस्ती गर्न खोजेका थिए।
सो समयमा प्रतिकार गर्दा होहल्ला भएकाले ती युवा भागेको फुलकुमारीको दाबी छ।
दैनिक ज्यालादारी गरी परिवार चलाउँदै आएकी फुलकुमारीले छोरीको न्यायका लागि अधिकारकर्मीसँग पनि सहयोगको याचना गरेकी छन्।
इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रमेश बहादुर पालले घटनाबारे अनुसन्धान भइइरहेको र आरोपित दोषी देखिए मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।