काठमाडौं– वैदेशिक रोजगारीको नाममा मकाउ पठाउने भन्दै ठगी गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार कसुरमा दोषी ठहर भई तीन वर्ष कैदको फैसला सुनाइएका फरार व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा उमेश पुन भनेर चिनिने मनाङको राजेशकुमार थापा रहेका छन्।
डम्बरजंग सारुमगर समेतको जाहेरीले वैदेशिक रोजगार कसूर सम्बन्धी दुई वटा मुद्दामा गत वर्ष असोज ३० गते उनी दोषी ठहर भएका थिए। उनलाई ३ वर्ष कैद तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो।
सजाय सुनाएपछि फरार भएका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीबाट खटिएको प्रहरी टोलीले बानियाटारबाट पक्राउ गरेको हो।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
थापाले २०७१ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति पत्रबिना नै राजेश कुमार थापा लगायतका व्यक्तिलाई वैदेशिक रोजगारमा मकाउ पठाइदिने प्रलोभन देखाई ९ लाख रुपैयाँ ठगी गरेका थिए।
क्षतिपूर्ति र जरिवानाबापत १३ लाख ५० हजार फिर्ता गर्नुपर्नेमा सो रकम उनले हालसम्म फिर्ता नगरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।