काठमाडौं– साइक्लिङमा निकै रमाउने क्षेत्रपाटीका समिर भुजेल र उनका भाइ सविन शनिबार भाइटीका लगाएपछि माउन्टेन बाइक लिएर चोभारतिर गए।
चोभारको जंगलको साँघुरा बाटोमा उनीहरु ‘एडभेन्चर साइक्लिङ’ मा रमाइरहेका थिए । भाइ सविन अगाडि हुइँकिइरहेका थिए भने समिर अलि पछाडि थिए । तर, एउटा डाँडा छिचोलिसक्दा पनि पछाडि रहेका दाइ नआइपुगेपछि सविन फर्किए । फर्कंदा स्थानीयहरुले साइकलमा सवार एक जना डाँडाबाट खसेको बताए।
गएर हेर्दा उनकै दाइ समिर थिए । बोलाउँदा दाइ बोलेनन् । उनको घटनास्थलमै मृत्यु भइसकेको थियो । साइकल चिप्लिएर करिब ५० मिटर तल खस्दा समिरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी नारायण चापागाईँले बताए।
सिन्धुपाल्चोकको भोटेचौर घर भई क्षेत्रपाटी बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।