काठमाडौं– काठमाडौं जिल्ला अदालतले गोंगबुस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका ८ वर्षीय छोरा ‘प्रयास’को हत्याको आरोपमा पक्राउ परेका महेन्द्र सार्कीलाई थुनामा पठाएको छ।
जिल्ला अदालतले पुर्पक्षका लागि सार्कीलाई थुनामा राखी मुद्दा अगाडि बढाउन आदेश गरेपछि जेल चलान गरिएको हो।
गत मंसिर ११ गते गेस्ट हाउसबाटै प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५, गोलढुंगा जंगलमा मारेर काठमाडौं महानगरपालिका–२६, म्हैपी पुलमुनि फालेको भेटिएको थियो।
प्रहरीले सार्कीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।
मंसिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंसिर १३ गते सामाखुशी म्हैपी पुलमुनि फेला पारेको थियो। सार्की स्वस्तिक त्रिवेणी गेस्ट हाउसका गाडी चालक थिए।
प्रविण कुँवरले काममा लापरबाही गरेपछि निकाल्ने धम्की दिएको भन्दै उनका छोराको अपहरण गरेर मारेको कार्कीले स्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।