धनगढी- सुदूरपश्चिमको प्रदेशसभा सचिवालयमा सोमबार नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता सांसद डिल्लीराज पन्त पुगे। प्रदेश सभा सचिवालयको लेखाशाखामा गएर सांसद पन्तले लेखा अधिकृत शिवराज ढुंगानालाई प्रश्न गरे- हामीलाई कुन–कुन सुविधा अन्तर्गतको रकम हाम्रो बैंक खातामा पठाइएको हो?
लेखा अधिकृत ढुंगानाले भने- टेलीफोन, विद्युत, घर भाडा, स्वकीय सचिव भत्तालगायत प्रदेश सभाले तोकेबमोजिम अन्य सेवासुविधा अन्तर्गतको रकम एकमुष्ट सम्बन्धित सांसदको बैंक खातामा पठाइएको हो।
सांसद पन्तले पुनः सोधे- हामीलाई कुन महिनादेखि कति रुपैयाँका दरले घर भाडा पठाइएको हो?
प्रत्युत्तरमा लेखा अधिकृत ढुंगानाले २०७४ साल फागुनदेखि २०७५ साल मंसिर महिनासम्मको घरभाडा एकमुष्ट पठाइएको बताए। लेखा अधिकृत ढुंगानाका अनुसार सुरुमा घरभाडावापत मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएकोमा गत कार्तिक महिनामा प्रदेश सभाले १७ हजार रुपैयाँ निर्धारण गरेपछि सोही बमोजिमको रकम पठाइएको बताए।
प्रदेशसभा सदस्य पन्तका अनुसार उनलाई घर भाडाबापत एक लाख ७० हजार रकम पठाइएको रहेछ। ‘लामो समयदेखि प्रदेशसभाबाट पाउनुपर्ने सेवा सुविधा प्राप्त भएको थिएन। एक्कासी तीन लाख रुपैयाँ बढी रकम मेरो बैंकको खातामा जम्मा भएको मोबाइलमा म्यासेज आयो,’ उनले भने, 'यसमा घरभाडा पनि जोडिएको रहेछ, थाहा थिएन। मेरो धनगढीमै घर भएकोले हामी (प्रदेशसभा सदस्य) ले बनाएको नियमावलीअनुसार यो रकममा घरभाडा जोडिने कुरै हुदैन भन्ने लागेर सुरुमा चासो दिइनँ। तर, पछि सञ्चार माध्यममार्फत मलाई पनि घरभाडा बापतको रकम पठाइएको थाहा पाएँ। त्यो थाह पाएर म त तीनछक्क परें।'
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार प्रदेश सभाले तोकेको सेवा सुविधा अन्तर्गत प्रदेशसभा सदस्यलाई एकमुष्ट रकम पठाइएको हो। उनले भने, 'हामीलाई कसको घर कहाँ छ भन्ने जानकारी हुँदैन। प्रदेशसभा सदस्यबाट पनि त्यो बारे जानकारी आएको थिएन। सचिव शर्माले प्रदेशसभा सदस्यहरुले बुझाएको सम्पत्ति विवरणमा त्यो उल्लेख भएपनि गोपनीयताको हकका कारण प्रदेशसभा सचिवालयले त्यो हेर्न नपाउने प्रावधान रहेको बताए।
‘रकम पठाउँदा कुनै भर्पाई वा जानकारी गराइँदैन। यदि उहाँहरुलाई चासो भएमा सचिवालयमा आएर विवरण लिन सक्नुहुन्छ।’
प्रदेशसभा सदस्य पन्तमात्र नभई नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेकी दिव्यश्वरी शाह, देवराज पाठक र टेकबहादुर रैका, नेकपाका सांसद नेपालु चौधरी तथा राष्ट्रिय जनता पार्टीका सांसद् मालामति रानासहित १२ जना सांसदको धनगढीमा नै घर छ। तरपनि प्रदेशसभा सचिवालयले उनीहरूको बैंक खातामा घर भाडाबापतको रकम जम्मा गरेको थियो।
प्रदेशसभा सदस्य पन्तले प्रदेशसभा सचिवालय नजिक आफ्नो घर रहेको र घरभाडाबापतको रकम बैंकमा जम्मा हुँदा अचम्म लागेको बताए। ‘मेरो घर धनगढीमै छ भन्ने प्रदेशसभाका सबै सदस्य, मन्त्री, कर्मचारीलगायत सबैलाई थाहा छ। तर मलाई पनि यो सुविधा दिनु भनेको हामीले बनाएको नियमावली उल्लंघन गर्नु हो,’ उनले भने, 'म यसलाई भ्रष्टाचार नै ठान्छु।'
आइतबार मात्र नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता पन्तसहित सचेतक टेकबहादुर रैकाले प्रदेशसभा सचिवालयले भुलबस आफूहरूलाई पनि घरभाडा बापतको रकम उपलब्ध गराएकाले फिर्ता गर्ने घोषणा गरेका थिए।
आफूहरूलाई जानकारी नै नदिई सचिवालयले खातामा रकम जम्मा गरेको उनीहरुको दाबी छ। हालसम्म सो रकम बैंक खातामै रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रैकाले बताए। जनताको करबाट आएको उक्त रकम सचिवालयको कमजोरीबाट आफूहरूको खातामा आएको र आफूहरू फिर्ता गर्न तत्पर रहेको बताए।
संसद सचिवालयले सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदले घर भाडाबापतको रकम लिइसकेको जनाएको छ। घर भाडाबापत विपक्षी दलका नेताले २० हजार, सत्तापक्षका प्रमुख सचेतक र सभापतिले १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलका प्रमुख सचेतकले १८ हजार र सांसदले १७ हजार रुपैयाँका दरले मासिक रुपमा घरभाडा पाउने व्यवस्था गरिएको छ।
सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासुविधा तथा तलबभत्तामा मात्रै मंसिर महिनासम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।