उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिका–७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए।
रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए। आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।