जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले स्रष्टाहरुको सम्मानका लागि प्रतिलिपि अधिकार कार्यान्वयनमा प्रदेश सरकार सबैभन्दा अगाडि रहने बताएका छन्।
जनकपुरमा आज आयोजित प्रतिलिपि अधिकार रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफनो जीवन समर्पित गरेर उत्पादन गरेका सिर्जनाको संरक्षण गर्न प्रदेश सरकार सदैव तत्पर रहने बताए।
विभिन्न सिर्जनामार्फत समाजलाई मनोरञ्जनका साथै सही बाटो समेत देखाउने स्रष्टाहरुले सम्मानका साथै शुल्क समेत पाउनेगरी कानुन निर्माण चाँडै गरिने उनले प्रतिवद्धता जनाए।
उनले भने, ‘स्रष्टाहरुले नाम मात्र होइन माम पनि पाउनु पर्दछ, त्यसका लागि आवश्यक कानुन हामी छिट्टै ल्याउँछौ, अन्य प्रदेश भन्दा अगाडि नै ल्याउँछौं।’
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ संगीतकार एवं राष्ट्रिय सभा सदस्य खेम नेपाली, प्रदेश सरकारका मुख्यसचिव दीपक सुवेदी, संगीतकार डा. रंजित झासहितका वक्ताहरुले सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रदेश २ का गीतकार, संगीतकार, गायक, रंगमञ्चका कलाकारहरु समेतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।