काठमाडौ- पकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई एक भ्रष्टाचार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ। अल अजीजिया स्टिल मिल्स भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार निरोधी अदालत (नेशनल अकाउन्टाबिलिटी ब्यूरो)ले उनलाई उक्त सजाय सुनाएको हो। यस बाहेक उनलाई २५ लाख डलर जरिवाना गर्ने निर्णय समेत सुनाएको छ।
शरीफलाई अदालतभित्रै बाट पक्राउ समेत गरिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेर प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो। उक्त फैसला आउनुभन्दा पहिले अदालत परिसरमा शरीफ सर्मथकले हुलदंगा समेत गरेका थिए।
प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्याँसको समेत प्रयोग गरेको थियो। भ्रष्टाचार निरोधी अदालत अकाउन्टाबिलिटी ब्युरोका न्यायाधीश मोहम्मद अरशद मलिकको इजलासले यस्तो फैसला सुनाएको हो। फैसला सुन्न उनी आइतबार नै इस्लामाबाद पुगेका थिए।
सर्वोच्चले शरीफमाथि चलिरहेको मुद्दामा सोमबारसम्म फैसला सुनाउने मिति यसअघि नै तय गरेको थियो। अदालतले विदेशमा रकम राखेकोमा समेत उनलाई दोषी ठहर गरेको छ। यसअघि उनको पार्टी पाकिस्तान मुस्लिम लिगले जेल पठाएमा आन्दोलन गर्ने चेतावनी दिएको थियो।
अल–अजीजिया स्टील मिल्स र फ्ल्यागसिप इन्भेस्टमेन्ट के हो?
शरीफको परिवार कयौं भ्रष्टाचारका मुद्दा खेप्दै आएको छ। मनी लाउन्डरिङ कर छली र विदेशमा सम्पत्ति लुकाएको आरोपमा उनको परिवार मुद्दा लड्दै आएको छ। २०१७ सेप्टेम्बरमा शरीफ अदालतमा १ सय ६५ पटक पेस भएका थिए। जुलाई २८, २०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले शरीफलाई प्रधानमन्त्री हुन अयोग्य ठहर गरेको थियो।
यससँगै सर्वोच्चले शरीफसँगै सम्बन्धित रहेको तीन फाइल पठाउन समेत भनेको थियो। शरीफको परिवारसँग जोडिएको सम्पत्ति, अल-अजीजिया र फ्ल्यागसिप इन्भस्टमेन्टसँग जोडिएका सबै विवरण पठाउन भनेको थियो।
सन् २०१७ मे मा नेशनल एकाउन्टाबिलिटी ब्युरोले शरीफको पारिवारिक विवरण बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।