कारिता, इन्डोनेसिया- इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ। ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको छ।
इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि आएको सुनामीका कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको छ। साथै एक हजारभन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिए।
यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिए। खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुटोपोले बताए।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ। शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन्।
भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा चिरिएकाले सुनामी आएको हुन सक्ने अनुमान गरेका छन्।
यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो। यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार दुई सय व्यक्तिको मृत्यु भएको थियो।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।